दमौली, कात्तिक २१ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ ।
आयोजनाको प्याकेज–१ अन्तर्गतको बाँध निर्माणको प्रक्रिया सोमबारदेखि सुरु गरिएको हो । त्यसका लागि उक्त गाउँपालिकाको वडा नं १ र व्यास नगरपालिकाको वडा नं ५ सिमाना भएर बग्ने सेती नदीमा मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट एक सय ४० मिटर अग्लो कङ्क्रिटको ६२६दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी पानी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रबाट पुनः सेती नदीमा खसालिएको छ ।









