गल्याङ (स्याङ्जा) : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ । नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले तीन वर्ष पहिले दसैँ तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई दिएको जानकारी दिए । उनले पहिलो वर्ष पालिका आफैँको पूर्ण लगानी भएकाले करिब रु डेढ लाख बराबरको ड्रम र पाइप आफूहरुलाई दिएको बताए ।
“यस वर्ष चार रोपनी जमिनमा तीन हजार पाँच सय बोट सयपत्री फूल लगाएका छौँ”, अध्यक्ष थापाले भने, “यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पादन लोभलाग्दो छ, लाग्छ फूल बिक्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।” उनले यस वर्षको फूलखेतीका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको र ५० प्रतिशत आफूहरुले जनश्रमदान गरेको बताए ।









