काठमाडौं। बैंक, वित्तीय संस्थामा अधिक तरलतासँगै अल्पकालीन ब्याजदर न्यून बिन्दुमा आएपछि सरकारले लक्ष्यभन्दा बढी आन्तरिक ऋण उठाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको सरकारले ब्याजदर सस्तो भएपछि ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो ।
सरकारले बजेटमार्फत चालू आर्थिक वर्ष (आव) मा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने घोेषणा गरेको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले साउन पहिलो साता कार्यतालिका प्रकाशित गर्दै पहिलो त्रैमासभित्र ५५ अर्ब रुपैयाँ ऋण उठाउने भनेको थियो । बैंकमा अधिक तरलता र अल्पकालीन ब्याजदर न्यून बिन्दुमा आएपछि असोज पहिलो साता कार्यतालिका नै संशोधन गरी पहिलो त्रैमासमै ८० अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य सार्वजनिक गर्यो । तर, असोज मसान्तसम्ममा सरकारले संशोधित लक्ष्यभन्दा पनि १७ अर्ब ३१ करोड रुपैयाँ बढी आन्तरिक ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ ।









