पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको असर वाणिज्य बैंकहरुको ब्यालेन्स सिटमा समेत देखिन थालेको छ । आर्थिक संकट गहिरिँदै जाँदा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात बढ्ने क्रमले उच्च रुप लिएको छ ।
प्रवाह भएको ऋण असुल नहुने तथा कर्जाको माग समेत नबढ्दा गत आर्थिक वर्ष ०७९/८० को असार मसान्तसम्म २.७० प्रतिशत रहेको खराब कर्जा अनुपात ३ महिनापछि अर्थात असोज मसान्तसम्ममा झन्डै २५ प्रतिशतले बढेर ३.३७ प्रतिशत पुगेको छ ।
गत आवको तेस्रो त्रैमासिकमा वाणिज्यहरुको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको भए पनि चौथो त्रैमासिकमा भने केही सुधार देखिएको थियो । बैंकको खराब कर्जामा सुधार हुँदा गत आवको चौथो त्रैमासिकसम्मको बैंकहरुको नाफामा पनि सकारात्मक असर परेको थियो ।









