नेपाल बीमा प्राधीकरणको तथ्यांक अनुसार २०८० को असार मसान्तसम्म (वैदेशिक रोजगार बीमासहित) जीवन बीमाको दायरामा आएको जनसंख्या ४४.३८ प्रतिशत रहेको छ । विगतका वर्षको तुलनामा बीमामा पहुँचको संख्यामा बढेको तथ्यांकमा देखिएपनि बीमा पोलिसी त्याग (सरेन्डर) गर्नेको संख्यामा उच्च वृद्धि भएको छ ।
२०८० को असार मसान्तसम्ममा बीमितहरुले १४ अर्ब २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीको १ लाख ४ हजार ५ सय ६ वटा बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । एक वर्षको अवधिमा २.८४ प्रतिशतले आफ्नो व्यवसाय विस्तार गरेका जीवन बीमा कम्पनीमा पोलिसी सरेन्डर भने २७.६६ प्रतिशतले बढेको देखिन्छ । यसरी हेर्दा जीवन बीमा कम्पनीको व्यवसाय वृद्धिभन्दा पोलिसी सरेन्डर गर्नेको ग्राफ निकै उच्च रहेको छ ।






