काठमाडौँ, भदौ ३१ गते । सेवाप्रदायकले फोरजी विस्तारलाई प्राथमिकतामा राख्दा यसका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । अर्कोतिर पुरानो बन्दै गरेको थ्रिजी प्रयोगकर्ताको सङ्ख्या भने घट्दै गएको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फोरजी प्रयोग गर्नेको सङ्ख्या दुई करोडनजिक पुगेको छ ।
प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एक करोड ९७ लाख ८१ हजार ४८९ जनाले फोरजी प्रयोग गर्ने पाइएको हो । यो कुल जनसङ्ख्याको करिब ६८ प्रतिशत हुन आउँछ । कुल फोरजी प्रयोगकर्तामध्ये नेपाल टेलिकमको फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड २६ लाख ८० हजार रहेको छ । त्यस्तै एनसेलका फोरजी प्रयोगकर्ताको सङ्ख्या ७१ लाख रहेको छ ।








