काठमाडौँ — वस्तुको प्रत्यक्ष बिक्रीका नाममा पिरामिड शैलीमा नेटवर्किङ गर्ने गिरोह सक्रिय भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न पत्राचार गरेको छ । जिल्लास्तरमा रहने अनुगमन समितिलाई सक्रिय बनाइदिन विभागले ७७ जिल्लाकै सीडीओ कार्यालयलाई पत्र पठाएको हो ।
‘वस्तुको प्रत्यक्ष बिक्रीका नाममा पिरामिड गर्न पाइँदैन । इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री गर्न पाइँदैन । तर जिल्लाहरूमा कारोबार भइरहेको गुनासो छ,’ विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने, ‘अनुगमन गरिदिन ७७ वटै जिल्लाका सीडीओ कार्यालयलाई पत्र पठाएका छौं ।’ जिल्लास्तरमा अनुगमन गरी गैरकानुनी रूपमा कारोबार गर्नेलाई कारबाही गर्न आग्रहसहितको पत्र पठाइएको उनको भनाइ छ ।







