डिजिटल भुक्तानी प्रणालीमार्फत् नगदरहित समाज निर्माणमा आफूलाई परिचित गराउँदै आएको ईसेवाले भौतिक नगद कारोबारलाई प्रवद्र्धन गर्न थालेको छ । कम्पनीले प्रयोगकर्ताहरूलाई आफ्नो डिजिटल खाता प्रयोग गरेर नगदमा नै कारोबार गर्न उत्प्रेरित गर्दै एभरेष्ट बैंकको एटिएममार्फत् पैसा निकाल्ने सुविधा थपेको देखिन्छ ।
विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने राज्यको नीतिअनुरुप नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई डिजिटल भुक्तानी प्रवद्र्धन वर्ष मनाइरहेको छ । ईसेवाले भने नगदमा नै कारोबार गरौँ भन्ने सन्देश दिन खोज्दै भुक्तानी प्रवद्र्धन वर्षलाई नै खिल्ली उडाउने काममा अग्रसर भएको भन्दै सेवाग्राहीहरुले ईसेवाको खुलेरै आलोचना गरेका छन् ।
वालेटको माध्यमबाट भौतिक रुपमा कार्डबाट पैसा निकाल्नु डिजिटल बैंकिङ नभएको वित्तीय क्षेत्रका जानकारहरु बताउँछन् । बैंकले डिजिटल भिजा कार्ड त दिएको नै हुन्छ, आखिर ईसेवा डिजिटल वालेट प्रयोग गरेर पनि भौतिक पैसाको नै प्रयोग गर्नुपर्ने भएपछि किन ईसेवाको प्रयोग गर्ने ? भन्ने जस्ता प्रश्नहरु सेवाग्राहीहरुले उठाउन थालेका छन् । विश्वबजार नै डिजिटल भुक्तानीमा अभूतपूर्व परिवर्तनको सङ्घारमा भर्चुअल करेन्सीदेखि सिबिडिसीजस्ता मुद्रामा अग्रसर हुँदै गर्दा डिजिटल कारोबारमा यतिका लामो विरासत बोकेको ईसेवाले किन नगदलाई नै प्राथमिकता दिँदै छ भन्ने सन्दर्भमाथि पनि बहस सुरु हुन थालेको छ ।
एटिएम प्रयोग गर्दा हरेक कारोबारमा कार्डको स्विच सञ्चालन गर्नेलाई विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने हुँदा यसले विदेशी मुद्राको समेत खर्च बढाउने गर्दछ । प्रति एटिएम कारोबार गर्दाको लागत सेवा प्रदायकहरुले बहन गर्नुपर्ने हुन्छ । अहिले सेवाग्राहिले ई–सेवा वालेटको प्रयोग गरी एटीएमबाट पाँच सय मात्र निकाल्नु पर्दा पनि रु.१५ शुल्क तिर्नुपर्ने हुन्छ।
डिजिटल वालेटबाट बैंकमा प्रतिदिन अधिकतम दुई लाखसम्म रकमान्तर गर्न सकिने र सोबापत १० रुपयाँ सेवा शुल्क मात्र तिरे पुग्ने व्यवस्था केन्द्रीय बैंकले गर्दै आएको छ।
डिजिटलको नाममा ई–सेवा वालेटको प्रयोग गरी एटिएमबाट पैसा निकाल्दा सेवाग्राहीले सिधै पाँच रुपयाँ बढी तिर्नुपर्ने देखिन्छ।
अर्कोतर्फ भौतिक मुद्राको छपाइ खर्चलाई कम गर्नुपर्छ, डिजिटल भुक्तानीको प्रयोगले एटिएमको प्रयोगलाई कम गरी आर्थिक रुपमा विदेशमा पलायन हुने रकम रोक्नुपर्छ भन्दै नेपाल राष्ट्र बैंकदेखि विभिन्न बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकहरु नै निरन्तर डिजिटल कारोबार प्रवद्र्धनमा लागिरहेका छन् ।
डिजिटल भुक्तानीको विकल्प हुँदाहुँदै डिजिटल वालेटको प्रयोग गरी एटिएमबाट नगद झिकेर नगद कारोबारमा जोड दिने ईसेवाको कदमप्रति एकातर्फ आलोचना सुरु भएको छ भने अर्कोतर्फ ईसेवा भने धेरै बैंकहरुमा यस्तो सेवा विस्तार गर्ने रणनीतिमा अग्रसर देखिन्छ । यससँगै ईसेवाको यस किसिमको कदमले भौतिक नगदमा जोड दिएको भन्दै डिजिटल भुक्तानी प्रणालीको विश्वसनीयतामा नै प्रश्नचिह्न खडा भएको छ ।