गुगलले गत वर्ष सन् २०१८ मा आफ्नो नक्सा सेवा गुगल म्याप्सबाट ३० लाख भन्दा धेरै फर्जी बिजनेस अकाउन्ट हटाइदिएको छ ।
गुगलको ब्लग अनुसार ती फर्जी अकाउन्टहरुबाट गुगलका ग्राहकहरु ठगिने जोखिम थियो । गुगलका अनुसार धेरै पटक गुगल म्याप्सको बिजनेस अकाउन्टधारी कारोबारीहरुले धोकेबाजी गरी नाफा कमाउनका लागि स्थानीय रुपमा सूचिकरण समेत गर्दथे । गुगलले आफ्ना म्याप्सको बिजनेस सर्भिसमार्फत व्यवसायसँग जोडिनका लागि सम्पर्क तथा त्यहाँसम्म पुग्नका लागि बाटो देखाउने लगायका सेवा उपलब्ध गराउने गर्दछ ।
गुगल म्याप्सका प्रडक्ट म्यानेजर इथन रेसेलले हालै एक ब्लगमा भनेका छन् कि वास्तविक रुपमा गुगलका निशुल्क सेवाहरुका लागि समेत ठग व्यापारीहरुले पैसा असुल्ने गरेका छन् । उनीहरुले आफुलाई सक्कली कारोबारी बताएर ग्राहकसँग ठगी गर्दछन् । उनका अनुसार गुगलले यस्तो प्रविधिको प्रयोग गर्दछ कि त्यसबाट उसको प्लाटफर्मको दुरुपयोगलाई धेरै हदसम्म रोक्न सकिएको छ ।








