विज्ञको जवाफ
व्यवसायको दैनिक हरहिसाब राख्ने प्रयोजनका लागि डे बुक राख्ने गरिन्छ । यसमा खास गरी नगदमा हुने कारोबारको रेकर्ड राखिन्छ । हिसाब नराख्ने बानीले भद्रगोल हुन्छ । व्यवसायमा समस्या आउन सक्छ । डे बुक राख्ने गरे दिनको बिक्री–वितरण र खरिदको रेकर्ड थाहा हुन्छ । नाफा–घाटा पनि तत्कालै थाहा पाउन सकिन्छ ।
कसरी राख्ने
बजारमा डे बुकका रजिस्टर सजिलै उपलब्ध छन् । त्यो किनेर पनि राख्न सकिन्छ । आफैँले कम्प्युटरको एक्सेलमा पनि राख्न सकिन्छ वा बजारमा पाइने सफ्टवेर किनेर पनि डे बुक राख्न सकिन्छ । सफ्टवेयर खरिद गर्दाचाहिँ पहिलोपटक केही बढी रकम खर्च गर्नुपर्ने हुन्छ ।
आफूले डायरी किनेर मिति, सामानको विवरण, कारोबार रकमजस्ता कलम तानेर पनि डे बुक राख्न सकिन्छ । डे बुक राख्ने क्रममा एउटा कुराचाहिँ भुल्नुहुँदैन । बैंकिङ कारोबारको पनि रेकर्ड अद्यावधिक रूपमा राख्ने गर्नुपर्छ । कहिले बैंकमा पैसा जम्मा गरियो र कहिले बैंकबाट पैसा झिकियो । यो कुराको रेकर्ड नराखेमा समस्या पर्न सक्छ । आफूले नगदका रूपमा राखेको रकमको पनि रेकर्ड राख्नुपर्ने हुन्छ ।








