नेपाल बीमा प्राधिकरणले मेट लाइफ इन्स्योरेन्सलाई लाभांश लैजान अनुमति दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत लाभांश लैजान दिने निर्णय गरेको हो ।
प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था छ । तर मेट लाइफ इन्स्योरेन्स विदेशी बीमा कम्पनीको शाखा कार्यालय रहेकोले हालसम्म पनि चुक्ता पूँजी खुलाएको छैन् ।
चुक्ता पूँजी नखुलाएको कम्पनीले मुनाफाबाट लाभांश विदेश लैजना स्वीकृति प्रदान गरेको हो ।
बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी (पहिलो संशोधन) निर्देशका २०७३ अनुसार विदेशी बीमा कम्पनीको हकमा भने न्युनतम चुक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्नेपर्ने व्यवस्था रहेको छ ।
तर मेट लाइफ इन्स्योरेन्सले प्राधिकरणले तोकेको पूँजी कायम गर्न सकेको छैन् । प्राधिकरणले तोकेको पूँजी कायम गर्न नसकेपनि कम्पनीको केन्द्रिय कार्यालयले भविष्यमा आईपर्ने जोखिम र दायित्व व्योर्होने जनाएपछि लाभांश लैजना दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए ।