विराटनगर : सप्तकोसी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा तत्कालीन प्रमुख कार्यकारी नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेशलाई सर्वोच्च अदालतले शुक्रबार सदर गरिदिएको छ। सुवेदीसहित बैंकका तत्कालीन लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्न उच्चले दिएको आदेश सर्वोच्चले शुक्रबार सदर गरिदिएको हो।
उच्चका तत्कालीन मुख्य न्यायाधीश (हाल सर्वोच्चका न्यायाधीश) तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त वाणिज्य इजलासले पक्राउ परेकामध्ये नवीन, देवीप्रसाद र हिमाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०७८ साल फागुन १३ गते आदेश दिएको थियो।