नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सिरहा जिल्लाको अर्नमा गाउँपालिकामा आज बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुलारुपमा बीमाका बारेमा जानकारी दिन सकेमा बीमा गर्न चाहनेहरु नै बीमा गर्न खोजी खोजी आउने बताए ।
अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गर्दै देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिक रुपले सुरक्षित हुनु अपरिहार्य भएकाले सबैले जीवन तथा निर्जीवन बीमा गर्नुपर्ने बताए ।







