काठमाडौं । प्रभु क्यापिटलले ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले यो योजना ल्याइएको जनाएको छ । डिम्याट खातावालले हाल डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष १०० रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने रहेको छ ।
अन्यथा खाता फ्रिज हुने यावत् समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्था भोग्नुपर्ने हुन्छ । सोही समस्याको हल स्वरुप प्रभु क्यापिटलले यो योजना ल्याएको हो, जुन नयाँ तथा पुराना सबै ग्राहकहरुमा मान्य हुनेछ ।
आइतबारबाट सुरु भएको यस योजनामा हितग्राहीले एक पटक ९९९ रुपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै निजले १ वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बीमा पनि पाउने क्यापिटलले जनाएको छ ।









