काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा करिब १६ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको मंसिरसम्मको तथ्यांक अनुसार १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै १ अर्ब ५४ करोड ५ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।
त्यसपछि, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, सगरमाथा, नेको, सिद्धार्थ र हिमालयन एभरेष्ट इन्सुरेन्सले पनि १ अर्ब भन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । यसअवधिमा सबैभन्दा कम बिमा शुल्क आर्जन गर्नेमा नेसनल इन्सुरेन्स कम्पनी देखिएको छ । मंसिरसम्ममा यस इन्सुरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ मात्र बिमा शुल्क आम्दानी गरेको छ ।







