काठमाडौँ — आयात घट्दा र रेमिट्यान्स बढ्दा पनि विदेशी मुद्रा सञ्चितिमा अपेक्षित सुधार हुन नसकेपछि उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीमार्फत नेपालबाट बाहिरिने रकम नियन्त्रण गर्न राष्ट्र बैंकले सरकारलाई आग्रह गरेको छ ।
खासगरी कोभिड–१९ महामारी मत्थर भएपछि विदेशमा अध्ययनका लागि जानेको संख्या अत्यधिक बढेकाले विद्यार्थीमार्फत ठूलो रकम बाहिरिरहेको भन्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । आयात कम गर्न सरकार र राष्ट्र बैंकद्वारा अवलम्बन गरिएका नीतिगत व्यवस्थाले पछिल्ला महिनाहरूमा अर्थतन्त्रका बाह्य सूचकहरूमा क्रमिक सुधार आउन थालेको छ । यही समयमा हरेक महिनाजसो वैदेशिक अध्ययन शीर्षकमा ठूलो रकम बाहिरिएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने चुनौती थपिएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।