काठमाडौँ — सरकारले आउँदो मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको बजेटमा तय गरेको लक्ष्यअनुसार पहिलो चरणमा मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।
सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासमा (मंसिरमा) आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले बोलकबोल तालिका सार्वजनिक गरेको छ ।
मंसिर १३ देखि पुस ६ गतेसम्म ३० अर्ब संकलन गरिसक्ने तालिकामा उल्लेख छ । जसअनुसार ३६४ दिने ट्रेजरी बिलमार्फत १५ अर्ब र दुई, तीन, चार वर्षे विकास ऋणपत्र मार्फत १५ अर्ब गरी कुल ३० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरिनेछ । उल्लिखित आन्तरिक ऋणको ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।