काठमाडौँ — ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत गत भदौसम्म सरकारले १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्चेको छ । यो ऋणीलाई सरकारले ब्याज अनुदान दिएको रकम हो । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिन्छ । ती कार्यक्रममा महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जा शिर्षकमा ५ प्रतिशत ब्याज अनुदान पाइन्छ ।
यसरी ऋणीलाई ब्याज अनुदान दिएबापत यो कार्यक्रम सुरु भएदेखि गत भदौसम्म करिब १९ अर्ब ३२ करोड रुपैयाँ खर्च भइसकेको राष्ट्र बैंकको तथ्यांक छ । यो कार्यक्रम अन्तर्गत गत भदौसम्ममा १ लाख ४७ हजार ९ सय २६ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । उक्त कर्जा अन्तर्गत २ खर्ब १३ अर्ब २३ करोड रुपैयाँ कर्जा बक्यौता छ । जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३ सय २ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ६७ करोड कर्जा लगानीमा छ ।