भैरहवा — रूपन्देहीको सम्मरीमाई–५ की शारदा लोधले श्रीमान्ले कतारबाट कमाएर पठाएको पैसा गाउँमै खोलिएको एउटा बैंकको सेवा काउन्टरमा जम्मा गर्न थालिन् । ४ लाखभन्दा धेरै रुपैयाँ जम्मा गरेको बैंकको भौचर र एटीएम कार्ड पनि उनीसँग सुरक्षित छ ।
जम्मा गरेको पैसा उनले निकालेकी छैनन् । तर उनले जम्मा गरेको पैसा बैंक खातामा भने छैन । ‘गत साउनमा केही पैसा आवश्यक परेर लिन खोज्दा जम्मा गरेको पैसा बैंकमा हुँदै नभएको बल्ल थाहा पाएँ,’ शारदाले भनिन्, ‘बैंकमा पैसा डुबेको जानकारी विदेशमा रहेका श्रीमान्लाई गराउँदा रातदिन गाली खाएर बसिरहेकी छु ।’
सम्मरीमाई–५, रोहिणीहवाकै दयाराम अहिरको अवस्था पनि उस्तै छ । ठूला ठेकेदारसँग केही काम माग्दै सानोतिनो पेटी ठेकेदारका रूपमा वर्षौंदेखि काम गर्दै कमाएर जम्मा गरेको पैसा उनको पनि डुबेको छ । गाउँमै खोलिएको बैंकको सेवा काउन्टरमार्फत जम्मा गरेको १५ लाख ८० हजार रुपैयाँको अहिले अत्तोपत्तो छैन । उक्त रकम जम्मा गरेका २१ वटा बैंक भौचर उनीसँग सुरक्षित छन् ।
शारदा र दयाराम मात्र होइन, यस क्षेत्रका १ हजारभन्दा धेरै विपन्न परिवारको अवस्था उस्तै छ । माछापुच्छ्रे बैंक लिमिटेडले ०७५ सालमा रूपन्देहीको सम्मरीमाई गाउँपालिका–५ रोहिणीहवामा सञ्चालन गरेको ‘शाखारहित बैंकिङ सेवा’ कार्यालयमा स्थानीयले जम्मा गरेको करोडौं रुपैयाँ हिनामिना भएको खुलेको छ । जम्मा गरेको निक्षेपको अवस्था अलपत्र छ । उक्त कार्यालयमा केही बदमासी भएको चाल पाएपछि बैंकले उक्त सेवा कार्यालय नै एउटा सूचना टाँसेर बन्द गरिदिएको छ ।
सेवा कार्यालयमा न कुनै कर्मचारी छन्, न त सेवा कार्यालय सञ्चालन गर्न भनी बैंकले नियुक्त गरेका व्यावसायिक प्रतिनिधि । ‘यस क्षेत्रका १ हजारभन्दा धेरै घरपरिवारको पैसा डुब्यो, हामी बर्बाद भयौं,’ दयारामले भने, ‘हामी पीडित भयौं भन्दा सुरुमा बैंकले हामीलाई थुमथुम्यायो । पैसा फिर्ता हुने आश्वासन दियो । अहिले कुनै वास्ता गर्दैन ।’ उक्त सेवा कार्यालयबाट पीडित स्थानीयले दिएको जाहेरी र उजुरीसमेत बैंकको लुम्बिनी र भैरहवा शाखाले नलिएर फर्काइदिने गरेको दयारामले बताए ।...







