सेन्ट्रल बैंक डिजिटल करेन्सीको प्रचलन र यसलाई प्रयोगमा ल्याउन अपनाउनुपर्ने ढाँचा, प्रविधि र प्रक्रियाबारे सल्लाह पेस
काठमाडौँ — नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी (विद्युतीय मुद्रा) सम्बन्धी अवधारणा प्रतिवेदन तयार गरेर सार्वजिनक सुनुवाइ (पब्लिक कन्सल्टेसन) का लागि आफ्नो वेबसाइटमा राखेको छ । अबको तीन महिनासम्म यसबारे सर्वसाधारणका सल्लाह, सुझाव र प्रतिक्रिया लिइने र त्यसपछि सम्भाव्यता अध्ययनको काम सुरु गर्ने राष्ट्र बैंकले जनाएको छ । कानुनी सुधार पहिलो फड्को हुने भनिएको छ ।
‘फिडब्याकका लागि हामीले आज (१४ मंसिर) वेबसाइटमा राखेका हौं,’ राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भने, ‘यसबारे सर्वसाधारणबाट प्रतिक्रिया पाएपछि तिनलाई समेटेर विस्तृत अध्ययन सुरु हुनेछ ।’ नेपालका अनुसार सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) लागू गर्न राष्ट्र बैंकलाई एउटा छुट्टै डेडिकेटेड (समर्पित) टिम चाहिनुका साथै कानुनी व्यवस्थापनमा परिमार्जन आवश्यक छ । ...