काठमाडौं : राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेखर बराल नियुक्ति भएका छन्। सञ्चालक समितिले बराललाई बिहीबार सीईओ नियुक्ति गरेको हो। बिमा समितिले सोमबार स्वीकृति दिएसँगै बरालले कार्यभार सम्हालेका छन्।
सीईओका लागि ११ जनाको आवेदन परेको थियो। त्यसमध्ये समितिले सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बराललाई सर्ट लिस्टमा सिफारिस गरेको थियो। तर बरालको सिफारिस तेस्रो भएकाले उनलाई छनोट गर्नुमा चलखेल भएको स्रोतको आरोप छ।
सोमबार स्वीकृत भएलगत्तै पद ग्रहण गरेको कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले बताए। यसअघि छनोटमा विवाद भएकै कारण फागुनमा अर्थ मन्त्रालयले पनि सो सिफारिसलाई रद्द गरी फेरि आवेदन खुलाउन कम्पनीलाई भनेको थियो। ‘अर्थ मन्त्रालयले आफ्नै पत्रलई अवज्ञा गरेको देखिन्छ। कम्पनीका अध्यक्ष ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मा र उनका भाइ अनिल शर्माको दबाबमा सीईओ नियुक्ति गरेका हुन्। जबरजस्ती नियुक्ति गरेको देखिन्छ,’ स्रोतले भन्यो।







