केही बैंकले निक्षेपमा १३.०३ प्रतिशत ब्याजदर दिएर अरु बैंक तथा वित्तीय संस्थाको निक्षेप खोस्न थालेको आशंका
काठमाडौँ — नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग संस्थागत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरको पूर्ण विवरण मागेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बुधबार बैंकहरूलाई पत्राचार गर्दै तीन दिनभित्र तोकिएको विवरण पठाउन भनेको स्रोतले बताएको छ ।
‘यही भदौ १ देखि ७ सम्म संस्थागत मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरको विवरण पठाउन भनेका छौं,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले संस्थागत निक्षेपको ब्याजदर घटाए/घटाएनन् भन्नकै लागि उक्त विवरण माग गरिएको हो ।’
चालु आर्थिक वर्षको एकीकृत निर्देशिनकामार्फत बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरेको ब्याजदरभन्दा २ प्रतिशत विन्दु कम ब्याजदर मात्र संस्थागत मुद्दती निक्षेपकर्तालाई प्रदान गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा २ प्रतिशत विन्दुले कम हुनुपर्नेछ,’ राष्ट्र बैंकको एकीकृत निर्देशिकामा भनिएको छ । उल्लिखित व्यवस्था पालना भए/नभएको सम्बन्धमा जानकारी लिन बैंकहरूसँग संस्थागत मुद्दती निक्षेपको ब्याजदरबारे विवरण मागिएको राष्ट्र बैंक स्रोतले बताएको छ । ...