बीमा समितिले बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानका उपायबारे नेपाल प्रहरीका विभिन्न निकायहरुसँग छलफल गरेको छ । छलफलको क्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताएका छन् ।
अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबीन गरी टुँगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए। अध्यक्ष सिलवालले भने, “बीमा समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानून विपरितका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोशिस गरिरहेको छ । करोडौंको बीमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशङ्का भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ । तर व्यवसायको विस्तारसँगै बढ्ने अपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न सक्दैन । अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाउनुपर्ने बेला आएको छ । प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिवद्ध छ।”






