विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंकको संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिनुका साथै मुलुकभित्र विदेशी मुद्रा तथा विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोलेर मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दिगोरुपमा नेपालमै वैदेशिक मुद्राको श्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।