नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस-युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन्।
बुधबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस-युक्रेन युद्धको विश्वभर परेको असरले नेपाल समेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन्। गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखा परेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए।
उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए। उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि उल्लेख गरे। गभर्नर अधिकारीले चार्टर्ड एकाउण्टेन्ट्सहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको जिकिर गरे।