काठमाडौं । अजोड इन्स्योरेन्सको भित्री शेयर कारोबार (इन्साइडर शेयर ट्रेडिङ) प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको देखिएको छ ।
बोर्डले यस प्रकरणमा छानविन गर्न उपसमिति बनाएकै १४ महीना भइसक्यो । उपसमितिले यससम्बन्धी सत्यतथ्य अझै बाहिर ल्याउन सकेको छैन ।
बोर्डले यस प्रकरणमा छानविन गर्न २०७७ चैत २३ गते एक जना निर्देशकको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । भित्री शेयर कारोबार भएको पाइएमा कारबाही गर्ने बोर्डको प्रतिबद्धता थियो ।
२०७७ चैत १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबारको क्रममा अजोड इन्स्योरेन्सको शेयर मूल्य अस्वाभाविक रूपमा बढेपछि सकारात्मक सर्किट लगाउनुपरेको थियो । त्यो दिन कम्पनीको शेयर मूल्यमा सर्किट लाग्नुपर्ने खास आधार केही थिएन । तर, त्यही दिन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७७६ रुपैयाँ पुगेको थियो ।









