नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (पूर्णपाठ सहित)
पृष्ठभूमि
- कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामा समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुनरुत्थानमा सघाऊ पु¥याउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा २०७८ मंसिर १० गते र अद्र्धवार्षिक समीक्षा २०७८ फागुन ५ गते गरिएको थियो ।
- कोभिड–१९संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि विस्तार हुन शुरु भएको छ । २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनले अर्थतन्त्र थप चलायमान हुन गएको छ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।
- चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिले मूल्यमा चाप पर्न गएको छ ।
- समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्र दबाबमा परेको छ । बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता घटेको छ ।
- चालु आर्थिक वर्षको नौ महिनासम्मका आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अद्घवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको यो समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको छ । ...