काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाइला फाउन्डेशसनबीच सम्झौता भएको छ । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाउँपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न दुई संस्थाबीच सम्झौता भएको हो ।
कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु-याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष रु.२० लाख आर्थिक सहयोग गर्नेछ । समारोहमा डा. थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।
कम्पनीको तर्फवाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरु देखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउँदै सामूदायिक अस्पताल सञ्चालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु-याउन पाएकोमा खुशी ब्यक्त गरे ।








