पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी निलम्बन प्रकरण निकै चर्चामा छ । अधिकारीका सम्बन्धमा सरकारले छानबिन गर्न समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परे । तर, सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च गएका अधिकारी सर्वोच्चबाट अल्पकालीन आदेश लिएर पुनः राष्ट्र बैंक फर्किएका छन् ।
यो प्रकरणपछि एक पक्षले नैतिकताका हिसाबले अब अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् भने अर्को पक्षले अल्पकालीन आदेशकै आधारमा अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने बताइरहेका छन् । यो प्रकरणले सरकार र गभर्नरबीचको द्वन्द्व सतहमा ल्याइदिएकोमात्र होइन, अझै केही समय यो द्वन्द्वको मारमा देशको अर्थतन्त्र रुमल्लिने खतरा पनि देखिएको छ । अर्कोतिर गभर्नर अधिकारी राष्ट्र बैंक फर्किएसँगै आफूमाथि लागेका सम्पूर्ण आरोपका प्रमाण नष्ट गर्न सक्ने खतरा पनि देखिएको कर्मचारी सम्बद्ध स्रोत बताउँछ ।