राष्ट्र बैंकका दुई सञ्चालकको कार्यकाल सकिँदैछ । डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल शनिबारबाट सकिँदैछ ।
२०७४ वैशाख ३ गते उहाँहरुलाई प्रचण्ड क्याबिनेटले राष्ट्र बैंकको सञ्चालक समितिमा सिफारिस गरेको थियो । यी दुई सञ्चालकको कार्यकाल सकिएसँगै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न कोरम नपुग्ने भएको छ ।
गत साता सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । यसैगरी अर्का सञ्चालक डा. सुबोधकुमार कर्णले नबिल र नेपाल बंगलादेश बैंक मर्जका लागि ३० हजार डलर घुस मागेको आरोप लागेपछि उहाँलाई गभर्नर महाप्रसाद अधिकारीले नै बैठकमा बोलाउन छाड्नुभएको थियो । अब सञ्चालक समितिमा कायममुकाय गभर्नर डा.निलम ढुंगाना, डेपुटी गभर्नर बमबहादुर मिश्र र अर्थसचिव मधुकुमार मरासिनी मात्रै रहनुहुनेछ ।