काठमाडौं । जीवन बीमा कम्पनीहरूले कायम गर्नुपर्ने साबिककै २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन नसकेको राष्ट्रिय बीमा संस्थानलाई अबको १ वर्षमा चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने काम निकै चुनौतीपूर्ण देखिएको छ ।
२०७९ चैतभित्र तोकिएको चुक्ता पूँजी कायम गर्न संस्थानले कमिटी नै गठन गरेर गृहकार्य थालेको छ । संस्थाको आइतवार सम्पन्न सञ्चालक समिति बैठकले पूँजी वृद्धिको योजना बनाउन कमिटी गठन गरेको हो ।
संस्थानका प्रशासक कविप्रसाद पाठकले नियमनकारी निकाय बीमा समितिले यसअघि तोकेको चुक्ता पूँजी नै कायम गर्न नसकेको बेला ५ अर्ब पुर्याउनु संस्थानका लागि निकै चुनौतीपूर्ण हुने बताए ।
पछिल्लो वर्षको वार्षिक लेखापरीक्षण सम्पन्न गर्न सके पूँजी वृद्धिका लागि आईपीओसहितको योजना बनाएर अघि बढ्ने उनले बताए ।
यसअघि सर्वसाधारणलाई ३० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सँगै बोनस र हकप्रद शेयरमार्फत पूँजी वृद्धि गर्ने योजना बनाएको संस्थानले ५ अर्ब पूँजी कायम गर्न सर्वसाधारणलाई आईपीओमार्फत विक्री गर्ने शेयरको अनुपात ४९ प्रतिशत पुर्याउन सक्ने पाठक बताउँछन् । तर, यी सबै कार्ययोजना संस्थानले गठन गरेको कमिटीले गृहकार्य गरेपछि मात्र सार्वजनिक गर्ने पाठकले जानकारी दिए ।






