बिराटनगर । झन्डै १६ करोड रुपैयाँ घोटाला भएको सप्तकोशी डेभलपमेन्ट बैंकमा बैंकका तत्कानीन सीइओ नविन सुवेदीले धितोपत्र बोर्डलाई घुस खुवाउनका लागि पैसा चाहियो भन्दै करोडौं रुपैयाँ लैजाने गरेको खुलासा भएको छ । बैंकका तत्कालीन जनरल सर्भिस डिपार्टमेन्टका प्रमुख हिमाल भट्टराईलाई फसाएर बैंकका तत्कालीन सीइओ सुबेदीले बोर्डका उच्च अधिकारीहरुलाई घुस खुवाउनका लागि भन्दै करोडौं रुपैयाँ लैजाने गरेको बयान दिएपछि बैंकभित्रको यस्तो रहस्य खुलेको हो । नातामा भान्जा पर्ने भट्टराईलाई प्रयोग गरेर सुवेदीले बैंककोकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको अभियोग पत्रमा उल्लेख छ ।
‘धितोपत्र बोर्डमा घुस बुझाउन १ करोड ५० लाख’
सुरुमा अभद्र व्यवहारको मुद्धा लगाएर हिमाल भट्टराईलाई मात्र फसाउन खोजेका सुवेदीले धितोपत्र बोर्डलाई घुस खुवाउन भन्दै १ करोड ५० लाख रुपैयाँ रकम लिएको बयान दिएका हुन् । सो बयान उच्च अदालतमा दर्ता भएको अभियोग पत्रमा उल्लेख छ । अर्थ सरोकारलाई प्राप्त अदालतमा पेश भएको अभियोगपत्रको पृष्ठ नम्बर ६ मा हिमाल भट्टराईले धितोपत्र बोर्डमा घुस खुवाउन भन्दै नविन सुवेदीले करोडौं रुपैयाँ लैजाने गरेको बयान दिएका छन् । ‘अचानक आजभन्दा करिब ३ महिनाअगाडि फेरि पनि धितोपत्र बोर्डलाई घूस दिनुपर्ने भयो भनी मेरो करेन्ट एकाउण्ट प्रयोग गरी करिब ७० लाखदेखि ८० लाख जति निकाल्न लगाई उक्त रकम नवीन सुवेदीले लानुभयो’–उनले दिएको बयानमा उल्लेख छ । उनको सो बयानले उनले यसअघि पनि धितोपत्र बोर्डमा घुस बुझाउन भन्दै करोडौं रुपैयाँ लैजाने गरेको संकेत गर्छ । सुवेदीले बैंकमा घोटाला गरेको रकम सेयरमा समेत हालेको चर्चा चलेका बेला उनको यो बयानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो घुस रकम धितोपत्र बोर्डका तत्कालीन अधिकारीसम्म पुगेको छ कि छैन भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान गरेको छैन ।