यज्ञ बञ्जाडे — पैसाबाट बनेको ब्रिकेट बालेर आगो ताप्न चाहनुहुन्छ, त्यसो हो भने राष्ट्र बैंकले तपाईंको इच्छा गरिदिन्छ ।
नेपाल राष्ट्र बैंकले पुराना झुत्रा नोटबाट ब्रिकेट उत्पादन तथा बिक्री सुरु गरिसकेको छ । झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने चलन अन्त्य गर्दै राष्ट्र बैंकले त्यसबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको बताएको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सातवटै प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणले नोटबाट बनेका ब्रिकेट खरिद गर्न सक्नेछन् ।
नष्ट गर्ने चरणमा रहेका पुराना नोटबाट राष्ट्र बैंकले गत भदौदेखि ब्रिकेट बनाउन थालेको हो । कोभिडका कारण बीचका केही महिना यो क्रम बन्द रह्यो । अहिले गण्डकी प्रदेशबाहेक सबै प्रादेशिक र केन्द्रीय कार्यालयबाट नियमित रूपमा (सातामा शुक्रबार, शनिबार र बिदाका दिनबाहेक) ब्रिकेट बनाउने काम सुरु भएको छ । नोट धुलाउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले नयाँ प्रविधिमार्फत ब्रिकेट बनाउन सुरु गरिएको राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकले प्रतिवर्ष ४० देखि ४५ अर्ब रुपैयाँ बराबरका पुराना नोट नष्ट गर्दै आएको बताइएको छ । ...