राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने सुविधा प्रदान गरेको छ । बिहीबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले यस्तो व्यवस्था गरेको हो ।
यसै व्यवस्थाअन्तर्गत २०७८ पुस मसान्तसम्म एक हजार ५५८ ऋणीको ५ अर्ब २८ करोड कर्जाको भुक्तानी अवधि थप गरिएको बैंकले जनाएको छ । निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआईइक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकहरुको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्थाअन्तर्गत २०७८ पुस मसान्तसम्म १२ हजार ३०० ऋणीको १३ अर्ब ८८ करोड कर्जाको भुक्तानी अवधि थप भएको समेत बैंकले जनाएको छ ।