के तपाईं एक वर्षमै मूल्य दोब्बर हुने लोभमा ऋण लिएर जग्गा किन्दै हुनुहुन्छ ? हो भने अहिले जग्गा किन्ने योजना केही समय पर धकेल्नुस्।
नेपालमा घरजग्गाको मूल्य पछिल्लो छोटो अवधिमै दोब्बर/तेब्बरले बढेको छ। तरलतामा संकुचन आएपछि कारोबार निरन्तर घटिरहेको छ। बैंक तथा वित्तीय संस्थाको एक तिहाई ऋण भने यही क्षेत्रमा फसेको छ ।
शेयर धितो ऋणमा कडाइपछि आयातमा कडाइ गर्दा पनि तरलतामा सुधार आएको छैन। अब राष्ट्र बैंकले कडाइ गर्न बाँकी रहेको यही एउटा क्षेत्र मात्रै भएकोले अहिले सबैको नजर राष्ट्र बैंकमाथि रहेको छ।
राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कडाइ गरेमा धितो मूल्याङ्कनको सीमा घटाउनुका साथै, घरजग्गा क्षेत्रमा जाने ऋणको सीमा पनि घटाउन सक्ने सम्भावना रहेको घरजग्गा क्षेत्रका जानकारहरु बताउँछन् । विज्ञहरुले भने बैंकले ऋण दिंदा मालपोत कार्यालयको न्यूनतम मूल्याङ्कनलाई आधार मान्नुपर्ने पनि सुझाव दिइरहेका छन् ।