नेपाल राष्ट्र बैंकले हालैमात्र जारी गरेको १० अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा पाँच गुणा बढीले आवेदन परेको छ । आन्तरिक ऋणका लागि गत सोमबार बैंकले दुई वर्षका लागि कुल १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८०’ जारी गरेको थियो । तर यता, बैंक तथा वित्तीय संस्थाहरुले उक्त ऋणपत्र खरिदका लागि अधिकतम ५२ अर्ब रुपैयाँ बराबरको माग गरेका छन् ।
राष्ट्र बैंककाअनुसार कुल १० अर्बको ऋणपत्रमा २ सय २७ बोलकबोल मार्फत ५२ अर्ब रुपैयाँ बराबरको माग दाबी परेको हो । यद्यपि, प्राप्त बोलकबोल मध्येबाट बुधबार राष्ट्र बैंकले औसत ५.७४ प्रतिशतको ब्याजदरमा ४२ वटा बैंक तथा वित्तीय संस्थालाई १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको छ ।