हिमालयनका सञ्चालकबीचको विवादले इन्भेस्टमेन्टसँगको मर्जर प्रक्रिया अघि बढेन
काठमाडौँ — समझदारीपत्रमा हस्ताक्षर भएको आठ महिनापछि हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया तोडिएको छ । हिमालयन बैंकका सञ्चालक समितिका सदस्यहरूबीचको विवादले इन्भेस्टमेन्टसँगको मर्जर प्रक्रिया तोडिएको हो । हिमालयन बैंकको साधारणसभाबाट मर्जर प्रस्ताव पारित हुन नसकेपछि उक्त प्रक्रिया अवरुद्ध भएको हो । हिमालयन बैंकको २९औं साधारणसभामा शुक्रबार ८६ प्रतिशत सयेरधनीमध्ये ४२ प्रतिशतले मर्जरको विपक्ष र ४३ प्रतिशतले पक्षमा मतदान गरेका थिए ।
कर्मचारी सञ्चय कोष, एन ट्रेडिङ कम्पनी र छाया इन्टरनेसनल सुरुदेखि नै मर्जरको विपक्षमा थिए । मर्जर प्रस्ताव पारित हुन उपस्थित सेयरधनीमध्ये कम्तीमा ७५ प्रतिशतले सहमति जनाउनुपर्छ । हिमालयन बैंकको हकमा उक्त प्रावधान पूरा नभएपछि मर्जरको प्रस्ताव साधारणसभाबाट अस्वीकृत भएको हो । हिमालयन बैंकमा सञ्चय कोषको १४.८७, एन ट्रेडिङ कम्पनीको १२.७७ र छाया इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी छ । यसबाहेक थप ५.४२ प्रतिशत साना सेयरधनीले पनि मर्जरको विपक्षमा मतदान गरेका थिए । २० प्रतिशत सेयर पाकिस्तानको हबिब बैंकको छ । यो बैंकको सबैभन्दा ठूलो सेयरधनी हो ।







