आजभन्दा एक दशक अघि विद्युतको बिल तिर्न, खानेपानीको बिल तिर्न कार्यालयमा जानुपर्थ्यो । त्यो पनि लामो लाइन बसेपछि मात्रै बिल तिर्ने पालो आउथ्यो । त्यो बेला नेपालमा डिजिटल पेमेन्टको परिकल्पना एकदम कमैले गरेका थिए होला ।
त्यही परिकल्पना गर्ने मध्येको एक थियो, एफवान सफ्ट इन्टरनेसनल । सन् २००४ मा वेब डेभलपमेन्ट, वेब होस्टिङ गर्ने कामबाट स्थापना भएको एफवान सफ्ट इन्टरनेसल आज एउटा ग्रुपमा परिणत भएको छ ।
वार्षिक अर्बौंको कारोबार गर्छ । एफवान सफ्ट नेपालको फिनटेक क्षेत्रको अग्रणी कम्पनी हो । जसले डिजिटल भुक्तानीका लागि मोबाइल बैंकिङ सिस्टमदेखि मोबाइल वालेटसम्म बजारमा ल्याएको छ । डिजिटल भुक्तानी सेवा शुरूवात गरेर कम्पनीले सहज र सजिलो बनाइ दियो ।
अझ मानिसको अमूल्य समय बचत गरिदियो । एफवान सफ्ट सानो पृष्ठभूमिबाट आएको कम्पनी भएको एफवान सफ्टका संस्थापक सुवास शर्मा बताउँछन् । नेपालमा विभिन्न अवसरहरू खोज्ने क्रममा सन् २००६ बाट वित्तिय क्षेत्रमा काम गर्ने योजना अनुरूप कम्पनी वित्तिय क्षेत्रमा केन्द्रीत भएको उनी सम्झन्छन् । ...