पुस ११ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले समृद्धि फाइनान्स र बुटवल पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुटवल पावर कम्पनीले र हकप्रद शेयर निष्काशन प्रयोजनार्थ समृद्धि फाइनान्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजपश्चात बुटवल पावरको शेयरमूल्य ४३८ रुपैयाँ ७३ पैसा र समृद्धि फाइनान्सको ३६१ रुपैयाँ ३३ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार दोस्रो बजारमा बुटवल पावरको शेयर प्रतिकित्ता ४८२ रुपैयाँ ६० पैसा र समृद्धि फाइनान्सको ४९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।








