काठमाडौं : चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरूको नाफा वृद्धि घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा भन्दा नाफा आधाले घटेको नेपाल राष्ट्र बैंकको चौमासिक प्रतिवेदनले देखाएको छ।
२७ वाणिज्य बैंकको नाफा वृद्धिदर समग्रमा ५१.१८ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। गत वर्षको कात्तिकसम्म ४८ अर्ब १९ करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए। यो वर्ष घटेर २३ अर्ब ५२ करोड ८७ लाखमा सीमित भएको छ। बैंकको समग्र नाफावृद्धि असोजसम्म भने सकारात्मक थियो। चालू आवको पहिलो त्रैमासमा झन्डै दुई दर्जन बैंकले नाफामा छलाङ मारेका थिए।
‘कर्जाको ब्याज अपेक्षित नबढ्दा र निक्षेपको ब्याज बढाउँदा बैंकको आम्दानीमा संकुचन आएको हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय भन्छन्, ‘सञ्चालन खर्च, प्रविधिको लागत बढ्दै गएको छ। यस कारण बैंकहरूले गत वर्षको भन्दा नाफा वृद्धि गर्न नसकेका हुन्।’