अर्थमन्त्रीले गरे शिलान्यास
काठमाडौं । बीमा समितिले ४७ करोड ३७ लाख रुपैयाँ लागतमा नयाँ भवन निर्माण गर्ने भएको छ । ललितपुरको कुपण्डोलमा निर्माण हुने भवनको अर्थमन्त्री जनार्दन शर्माले सोमवार शिलान्यास गरेका छन् । अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संयुक्तरूपमा भवन शिलान्यास सम्बन्धी शिलापत्रको अनावरण गरेका हुन् ।
भवन शिलान्यास समारोहलाई सम्बोधन गदैंै अर्थमन्त्री जनार्दन शर्माले मानव जीवन, भौतिक सम्पत्ति एवम् सरकारी र सार्वजनिक पूर्वाधारमा रहेका जोखिमहरूको न्यूनीकरणमा बीमाको महत्त्वपूर्ण योगदान हुने भएकाले देशका दूरदराजका कृषक र विपन्न वर्गसम्म बीमाको पहुँच पुग्नुपर्ने बताएका छन् ।
अर्थमन्त्री शर्माले जनतालाई बीमा गर्न उत्साहित गर्न बीमा कम्पनीहरूको व्यवहार र क्रियाकलाप विश्वसनीय हुनुपर्ने औंल्याए । बीमाको दायरा बढाउने सरकारको लक्ष्य हासिल गर्न बीमा समिति र बीमा कम्पनीहरूलाई ठोस योजनासहित गम्भीर भएर लाग्न मन्त्री शर्माले निर्देशन दिएका छन् ।







