कुमारी बैंकको १९ करोड प्रकरणमा सिद्दार्थ बैंक पनि तानिएको छ। गायक योगेश्वर अमात्यको जग्गा रहेको कम्पनी बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खाता सिद्धार्थ बैंकमा रहेको खुलेपछि यस प्रकरणमा सिद्दार्थ बैंक पनि तानिएको हो ।
डायनिल ट्रेडिङको नाममा स्वीकृत १९ करोड कर्जा बिलुवाभूमिको नाममा रहेको खातामा गएको र कागजात नक्कली भएको थाहा भएपछि कुमारी बैंकले उक्त १९ करोड सिद्दार्थ बैंकको सोहि खाताबाट झिकेको अनुसन्धानमा खुलेको छ।
सिद्दार्थमा रहेको बिलुवाभूमिको नाममा रहेको खाता नक्कली हो वा गायक अमात्यकै हो भन्ने कुराको पनि अनुसन्धान थालिएको छ। यद्दपी बिजपाटीलाई प्राप्त जानकारी अनुसार अमात्यले उक्त खाता संचालनको लागि एक जना व्यक्तिलाई अख्तियारी दिएका छन्।
आफ्नो जग्गाको किर्ते गरेर अरुले नै कर्जा लिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबि) मा उजुरी दिएका अमात्यको बैंक खाता अख्तियारी प्राप्त व्यक्तिको मिलोमतोमा चलाइएको हो भन्ने विषयमा पनि अनुसन्धान जारी छ । वा डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका संचालक एसके महर्जन र मुक्तिनाथ गौतमले कुमारी बैंकमा बुझाएको नक्कली कागजातको आधारमा सिद्दार्थ बैंकमा अर्को 'फेक' खाता खोलेका थिए भन्ने विषय पनि अनुसन्धानको क्रममा रहेको छ।







