नेपालका दुई ठूला हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच गत बैशाख ३० मर्जरमा जाने सम्झौता भएको थियो । यी दुई ‘बिग’ बैंकबीच मर्जरमा जाने सम्झौता भएको पनि आज ठ्याक्कै ६ महिना भएको छ । तर, यति लामो समयसम्म पनि यी दुई बैंकबीच मर्जरमा जाने गरी अन्तिम तयारीमा पुगेका छैन् ।
नेपाल राष्ट्र बैंकले यी दुई बैंक मर्जरमा जानका लागि सम्झौता भएको १५÷२० दिनमा नै एलओआई दिएको थियो । बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेका ती दुई बैंकलाई राष्ट्र बैंकले जेठ महिनामा नै एलओआइ दिएको थियो ।
पहिलो एलओआइ दिएको समय सीमा असोज पहिलो साता सकिएको थियो । तर, उक्त समय सीमा भित्र पनि मर्जरमा जान नसक्ने अवस्था आएपछि पुनः दुवै बैंकका सञ्चालक समितिले राष्ट्र बैंकलाई मर्जरको म्याद थपिदिन आग्रह गरेका थिए ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकको आग्रहमा केन्द्रीय बैंकले मंसिरसम्म मर्जरमा जानका लागि समय थपिएको थियो । तर, थपिएको समयसम्ममा पनि मर्जर हुने सम्भावना देखिएकै छैन् । मर्जरमा जान दुवै बैंकले पहल गरिरहेका छैनन् ।
भित्र भित्रै यसरी पाक्दै छ, ‘खिचडी’
अरु बैंक तथा वित्तीय संस्थालाई जस्तै हिमालय र इन्भेष्टमेन्ट बैंकलाई पनि मर्जरमा जाने सम्झौता भएको एक महिना नहुँदै राष्ट्र बैंकले एलओआइ दिएको थियो । पहिला दिएको एलओआइको समय सकिएर समय थपिएको छ । थपिएको समयमा पनि अझै मर्जरमा जानका लागि राम्रोसँग अगाडि बढेजस्तो नदेखिएको राष्ट्र बैंक मर्जर शाखाका एक उच्च कर्मचारीले बताए ।
‘मर्जर गर्छौ गछौं भन्छन् । तर, भित्र भित्र के खिचडी पाकिरहेका छ त्यति थाहा भएन्,’ ती कर्मचारीले भने, ‘मर्जरमा जान ढिलाई गर्नुको कारण दुई बैंकबीच केही खिचडी पाकेको हुनुपर्छ ।’
दुईवटै बिग हाउस भएकाले सर्वसाधारणले सोचे जस्तो मर्जरमा जान त्यति सजिलो नभएको बताइन्छ । दुई बैंकमध्ये कुनै एक मर्जरमा जान नहुने पक्षमा देखिएको छ ।
दुई बैंकबीच स्वाप रेसियोमा भने कुनै समस्या छैन् । स्वाप रेसियो १ः१ नै हो, त्यसमा कुनै ‘कन्फूजन’ नभएको राष्ट्र बैंक स्रोत बताउँछ । ‘बिवाद स्वाप रेसियोमा हैन्, मर्जरपछि बन्ने नयाँ बैंक कसको नियन्त्रणमा हुने भन्ने नै मुख्य समस्या हो,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘नयाँ अर्ननाइजेसन कसको नियन्त्रण (कन्ट्रोल) मा हुने भन्ने नै हो । आफ्नो कन्ट्रोलमा नहुने पक्ष मर्जरमा जान हुँदैन् भन्ने पक्षमा उभिएकाले मर्जरमा समस्या भएको हो ।’








