सानिमा बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज कार्तिक १४ गते आईतबार दिन १७ औं वार्षिक साधारण सभा गरेको हो ।
कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ शेयरधनीहरुको उपस्थितिमा बैठक सम्पन्न गरिएको जनाइएको छ । साथै अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो ।
बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, गायत्री थापा र डा. केशव प्रसाद आचार्य १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । तुक प्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित हुनुभएको हो ।








