१४ कात्तिक, काठमाडौं । ‘बिग मर्जर, बिग मर्जर… !’
दुई वर्ष अघिसम्म यो अंग्रेजी शब्दावलीले वित्तीय बजार एकदमै ततायो । ठूला बैंकहरू गाभ्ने राष्ट्र बैंकको चाहना र तत्कालीन सरकारले लिएको नीतिका कारण वित्तीय क्षेत्रसँग चासो राख्ने सबैको मुखमा ‘बिग मर्जर’ शब्द झुण्डिएको थियो ।
आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा नै सरकारले यो विषय उठान गर्यो । त्यसपछि वित्तीय बजारमा ‘फोर्स मर्जर’को पनि चर्चा शुरू भयो ।
सरकारले नै साथ दिएकाले केन्द्रीय बैंकले अब बैंकहरूलाई जबर्जस्त मर्जर गराउनसक्ने आकलन त्यसबेला वित्तीय क्षेत्रका धेरैले गरेका थिए । केन्द्रीय बैंकले भने स्वतस्फूर्त मर्जरलाई प्रोत्साहन गर्न बैंकहरूलाई केही सुविधा दिने बताउँदै बिग मर्जरको योजनामा सहयोग गर्न अनुरोध गर्यो ।
नभन्दै, तत्कालीन ग्लोबल आईएमई बैंक र जनता बैंक नेपालले मर्जरको घोषणा गरे । मर्जरको प्रारम्भिक सम्झौता हुँदै एकीकृत कारोबार पनि रफ्तारमै भयो । अन्ततः यी दुई ठूला वाणिज्य बैंक मर्ज भएर बन्यो, ‘ग्लोबल आईएमई बैंक’ । यो मर्जरले आर्थिक क्षेत्रमा एक किसिमको तरंग ल्यायो ।