नेपाल राष्ट्र बैंकले रिपोमार्फत आज पुनः २० अर्ब रुपियाँ बजारमा पठाउने भएको छ। केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार सवा ३ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्। यो १४ दिने अवधिको यो रिपो असोज १४ गते परिपक्व हुनेछ।
केन्द्रीय बैंकल मौद्रिक नीतिमार्फत सीसीडी रेशियो खारेज गरेर सीडी रेसियो मात्र लागू गरेपछि बैंकहरुमा विस्तारै तरलताको अभाव हुन शुरु गरेको हो। केन्द्रीय बैंकले सीडी गणनामा विदेशी मुद्रामा लिएको ऋण, पुनर्कर्जालाई समेत राख्न पाउनुपर्ने व्यवस्था गरेपनि सीडी ९० कै हाराहारीमा भएपछि दैनिक स्थायी तरलता अनुपात (एसएलएफ) प्रयोग गरेरै भए पनि ३ प्रतिशत सीआरआरको व्यवस्थापन गर्दै आएका छन्।
बैंकहरुले कुल निक्षेपको ३ प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) व्यवस्थापन गर्न राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा एसएलएफ चलाउँदै आएका छन्। बुधबार पनि बैंकहरुले ९ कारोबारमा १३ अर्ब ९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत गत बिहीबार पनि ३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो। १४ दिनको उक्त रिपो असोज ७ गते परिपक्व हुनेछ।