काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र ग्लोबल आइएमई बैंक बिच मर्जर गर्ने सम्बन्धमा सम्झौता नै भैसकेको खुलासा भएको छ। यी दुई बैंक बिच साउन २९ गते मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको बैंक अफ काठमाण्डू सम्बद्ध स्रोतले जानकारी दिएको हो।
यसअघि साउन २९ गते चन्द्रागिरि रिसोर्टमा यस सम्बन्धी प्रारम्भिक छलफल मात्र भएको भन्ने समाचार सार्वजनिक भएको थियो। तर, बैंकको उच्च तहमा रहेको विश्वस्त स्रोतले भन्यो, "छलफल मात्र होइन सम्झौता नै भइसकेको छ। स्वाप रेसियो देखि अरू धेरै कुरामा समेत सहमति जुटिसकेको छ।"
ग्लोबल आइएमई बैंकका एक उच्च पदस्थ कर्मचारीले समेत सो कुरा स्वीकारे। उनले जानकारी दिए अनुसार ९० देखि ९५ को स्वाप रेसियो बिओकेले पाउने सहमति भएको छ। बिचमा मर्जर प्रक्रिया भाँडिने सम्भावनालाई मध्यनजर गर्दै यो कामलाई अति तीव्र गतिमा सम्पन्न गर्ने भन्ने समेत दुई बैंकका सच्न्चालक बिच सहमति भएको बुझिएको छ।