नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक मौद्रिक नीतिबारे बैंक वित्त र फाइनान्स कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरेको छ। छलफलमा बिशेषगरि बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्सले कर्जा पुंजी निक्षेप अनुपात (सिसिडी) खारेज गरि कर्जा निक्षेप अनुपात (सिडी) को गणनाबारे चाँसो लिएका छन्।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अहिलेकै अवस्थामा सिडी रेसियो लागू हुँदा २-३ खर्ब रुपैयाँ बराबरले बैंकहरुको लगानी क्षमता घट्न सक्ने तथ्य छलफलको क्रममा सुनाएका छन्।
तर गभर्नर महाप्रसाद अधिकारीले भने सिडी रेसियो लागू हुँदा बैंकहरुको लगानी क्षमता घट्ने नभई उल्टै १ खर्ब ९ अर्बले लगानी क्षमता बढ्ने गरि हिसाब प्रस्तुत गरेर देखाएका छन्।
बोन्ड, पुनर्कर्जा, बैदेशिक ऋण जस्ता सापटीहरु र स्रोतहरु पनि सिडी रेसियोमा गणना गर्न पाउने भएकाले सिडी रेसियो लागू हुँदा बैंकहरुको लगानी क्षमता बढ्ने भन्दै राष्ट्र बैकले यसको प्रभाव सकारात्मक हुनेमा बैंकरहरुलाई 'कन्भेन्स' गरेको छ।