नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो,’संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै ९९ प्रतिशत नै देख्छौँ भने अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहन्छ ।’
त्यही हिसाबले नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिँदै आएको छ । गत सालको मौद्रिक नीतिमार्फत हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं । त्यो प्रयास हाम्रो रह्यो नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको छ । सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुनर्कर्जामध्ये पनि ७० प्रतिशत पुनर्कर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको छ ।