काठमाडौं : कृषि विकास बैंकले फेरि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ४% ब्याजदर पाइनेछ ।बैंकले ८–९ वर्ष अवधिको कृषि डिबेन्चर नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
केही समयअघि मात्र कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । धितोपत्रबाट अनुमति पाएपनि बैंकले हालसम्म यो ऋणपत्र निष्कासन गरेको छैन । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४% ब्याजदर पाइनेछ ।








